सुर्खेत । डोल्पाको विकट बस्तीमा जटिल अवस्थामा पुगेकी एक गर्भवती महिलालाई उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ । शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोकी २८ वर्षीया पेम्मा आङमो गुरुङको गर्भावस्थामा साल अड्किएर अवस्था जटिल बनेपछि उनलाई तत्काल उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पेम्मालाई आज उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।
उपल्लो डोल्पाका बस्तीमा सामान्य स्वास्थ्य उपचारका लागि समेत कठिनाइ छ । त्यसमाथि गर्भावस्थामा जटिल समस्या देखिँदा समयमै उपचारको व्यवस्था गर्नु चुनौतीपूर्ण बन्ने गरेको छ । उपल्लो डोल्पाबाट जिल्ला सदरमुकाम दुनैसम्म समेत सडक सञ्जाल जोडिएको छैन। भौगोलिक विकटता र यातायातको सहज पहुँच नहुँदा बिरामीलाई तत्काल स्वास्थ्य संस्थासम्म पु¥याउन कठिन हुने गरेको छ ।
उपल्लो डोल्पामा शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गरी तीनवटा स्थानीय तह छन् । यी क्षेत्रमा पर्याप्त स्वास्थ्य उपचार सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरेर जिल्ला बाहिर लैजानुपर्ने बाध्यता छ ।
दुर्गम बस्तीका गर्भवती महिलाले समयमै स्वास्थ्य सेवा पाउन नसक्दा आमा र शिशु दुवैको स्वास्थ्य जोखिममा पर्न सक्ने अवस्था छ । विशेषगरी प्रसूति तथा अन्य जटिल समस्या देखिएका बेला तत्काल उपचार उपलब्ध गराउन नसक्दा थप जोखिम निम्तिन सक्छ ।
सडक सञ्जालको अभाव, स्वास्थ्य संस्थामा पर्याप्त उपचार सुविधा नहुनु र आपत्कालीन उद्धारमा निर्भर रहनुपर्ने अवस्थाले उपल्लो डोल्पाका नागरिकको स्वास्थ्य सेवामा पहुँच अझै चुनौतीपूर्ण रहेको देखाउँछ । गर्भवती तथा सुत्केरीको जीवनरक्षाका लागि दुर्गम क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा र भरपर्दो आपत्कालीन उद्धार प्रणालीको आवश्यकता छ ।











