सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३ स्थित लगाम डाँडामा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
कैलालीको लम्कीबाट अछामका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको गाडी मंगलबार बिहान साढे १० बजे अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता दीपेन्द्र मगराठीका अनुसार दुर्घटनाका बेला गाडीमा २१ जना सवार थिए। दुर्घटनामा घाइते भएका सबैको उद्धार सम्पन्न भइसकेको र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको उनले बताए।
घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको छ। पञ्चपुरी आधारभूत अस्पतालमा उपचार भइरहेका घाइतेमध्ये हेमन्त तिमिल्सिनालाई थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा पठाइएको छ।
दुर्घटनामा अछाम, कैलाली र दैलेखका यात्रु घाइते भएका छन्। घाइते हुनेमा जिवनकला बयक, हेमन्त तिमिल्सिना, तीन वर्षीय समिर बादी, विर्ख टमटा, सारदा टमटा, निरज भण्डारी, धिराज विक, गोपाल बोगटी र शान्ति भण्डारी रहेका छन्।
घाइतेमध्ये केहीलाई टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरणबारे अनुसन्धान भइरहेको छ।











