काठमाडौँ । म्यानचेस्टर युनाइटेडको जितविहीन यात्रा लम्बिएको छ। इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति एलान रोडमा भएको खेलमा युनाइटेड घरेलु टोली लिड्स युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
यस सिजन निरन्तर खराब प्रदर्शन गरिरहेको युनाइटेडका लागि क्यामरुनका फरवार्ड ब्रायन म्बेउमोको गोल केही राहत बनेको छ। उनले प्रिमियर लिगका पछिल्ला सात खेलमा चार गोल गरिसकेका छन्।
गत अगस्टमा इप्सविचविरुद्ध ह्याट्रिक गरेका कप्तान ब्रुनो फर्नान्डेसबाहेक प्रशिक्षक माइकल क्यारिकको टोलीका अन्य कुनै पनि खेलाडीले यस सिजन एकभन्दा बढी गोल गर्न सकेका छैनन्।
यसअघि च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडविरुद्ध खेलको पहिलो मिनेटमै गोल खाए पनि युनाइटेडले पुनरागमन गरेको थियो। लिड्सविरुद्ध पनि टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि जित निकाल्न सकेन।
खेलपछि प्रशिक्षक क्यारिकले टोलीभित्रका विवाद र बाह्य आलोचनाबाट टाढा रहेर प्रदर्शन सुधारमा केन्द्रित रहेको बताए। लिड्ससँगको बराबरीसँगै युनाइटेड लगातार छ खेलमा जितविहीन बनेको छ।
यो सन् २०१८–१९ सिजनपछि टोलीको सबैभन्दा खराब लय भएको समाचारमा उल्लेख छ। स्काई स्पोर्ट्सका विश्लेषक तथा पूर्वखेलाडी जेमी क्यारागरले पनि युनाइटेडको खस्कँदो प्रदर्शनप्रति चिन्ता व्यक्त गरेका छन्।
लिड्ससँगको बराबरीलाई नै सफलता मान्नुपर्ने अवस्थाले टोलीको स्तर खस्किएको उनको टिप्पणी छ।











