काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।
बुधबार यो वर्ष १२ दिन ढिलो गरी नेपालबाट मनसुन बाहिरिए पनि आज वर्षाको सम्भावना रहेको छ । मनसुन बाहिरिए पनि पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षा हुन्छ । त्यसैले आज वर्षाको पूर्वानुमान छ ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यो वर्ष १२ दिनपछि बुधबार मनसुन नेपालको भूभागबाट पूर्ण रूपमा बाहिरिएको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कोसी र वाग्मती प्रदेशका हिमाली र पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागले राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।
तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।









