काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका लागि बिमस्टेक सदस्य राष्ट्रहरूबीच सीमाभन्दा बलियो सहकार्य र अपराधीको गतिभन्दा छिटो कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

भारतमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै उनले आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता चुनौती सामना गर्न प्रभावकारी सूचना आदानप्रदान, अत्याधुनिक प्रविधिको प्रयोग र संयुक्त क्षेत्रीय पहल आवश्यक रहेको बताए।

ADVERTISEMENT

भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्न क्षेत्रीय सुरक्षा सहकार्य महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

ADVERTISEMENT

बैठकमा नेपालले प्राकृतिक विपद् सीमाभन्दा बाहिर पनि फैलिन सक्ने यथार्थलाई ध्यानमा राख्दै बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त कार्यदल गठन गर्न औपचारिक प्रस्ताव अघि सारेको छ।

यसैबीच, गृहमन्त्री गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटमा साझा सुरक्षा चासो, सीमा सुरक्षाका विविध पक्ष तथा समसामयिक विषयमा छलफल भएको थियो। दुवै पक्षले आपसी समन्वय र सहकार्यलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ADVERTISEMENT

भेटका क्रममा नेपाली उद्योगी तथा व्यापारीले भारतीय बजारमा पहुँचका क्रममा भोगिरहेका चुनौती र भारतमा रहेका नेपालीका समस्याबारे समेत छलफल भएको गृहमन्त्री गुरुङले बताएका छन्। ती समस्या समाधानका लागि भारतीय पक्षले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ।