काठमाडौं । एसियन पेन्ट्स अन्तरविद्यालय यू–१८ छात्र तथा छात्रा राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि बागमती प्रदेशको मनकामना स्कुल र मधेस प्रदेशको जनज्योति सेकेन्डरी स्कुलले जितेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा छात्रतर्फ मनकामना स्कुल र छात्रातर्फ जनज्योति सेकेन्डरी स्कुल च्याम्पियन बनेका हुन्। प्रतियोगितामा देशभरका ३२७ विद्यालयले जिल्ला तथा प्रदेशस्तरीय छनोट पार गर्दै प्रतिस्पर्धा गरेका थिए।
छात्रातर्फको फाइनलमा मधेस प्रदेशको जनज्योति सेकेन्डरी स्कुलले सुदूरपश्चिम प्रदेशको श्री जीवनज्योति माध्यमिक विद्यालयलाई ७–२ गोलअन्तरले पराजित गर्यो। जनज्योतिका लागि अनिता रानामगरले ह्याट्रिक गरिन्।
विजेता टोलीका राईले दुई गोल तथा दीक्षा रानापाल र रकिशा दंगालले समान एक गोल गरे। सुदूरपश्चिमकी बिबिशा बिष्टले दुई गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकिनन्।
छात्रतर्फको फाइनलमा बागमती प्रदेशको मनकामना स्कुलले गण्डकी प्रदेशको गुरुकुल विद्यासदनलाई २–० गोलले हराउँदै उपाधि जित्यो। खेल सकिन एक मिनेट बाँकी रहँदा मनकामनाले दुई गोल गरेको थियो।
प्रतियोगिताका विजेता टोलीले एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे भने उपविजेता टोलीले ५० हजार रुपैयाँसहित ट्रफी पाए। विजेता तथा उपविजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता, नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ र महिला टोलीकी पूर्वकप्तान अञ्जिला तुम्बाप्पो सुब्बालगायतले पुरस्कार वितरण गरे।









