काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पारेको छ। स्वीकृत दरभन्दा बढी शुल्क लिने र पूर्वस्वीकृतिबिना शुल्क बढाउने सेवा प्रदायकमाथि कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ।
इन्टरनेटको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्राधिकरणले आफ्नो धारणा सार्वजनिक गरेको हो। प्राधिकरणका अनुसार हालसम्म इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त भएको छैन र शुल्क बढाउन स्वीकृति पनि दिइएको छैन।
प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले उपभोक्ताबाट लिने शुल्क उचित र मनासिब हुनुपर्ने जनाएको छ। प्रचलित निर्देशिकाअनुसार सेवा प्रदायकले शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था छ।
त्यस्तै, प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक गर्नुपर्ने, स्वीकृत दरभन्दा बढी रकम लिन नपाइने र पूर्वस्वीकृतिबिना शुल्क वृद्धि गर्न नहुने प्राधिकरणले स्पष्ट पारेको छ।
उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने वा नियमविपरीत शुल्क असुल्ने प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ।







