काठमाडौँ । विद्यार्थी राजनीतिबाट उदाएका गगनकुमार थापा अब नेपाली कांग्रेसको सर्वोच्च नेतृत्वमा पुगेका छन्। पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ठूलो मतान्तरले पछि पारेका छन्।
निर्वाचन समितिका अनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाए। थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका हुन्। कुल ७ हजार ३९ मत खसेकोमा ५४ मत बदर भएको थियो।
थापाले प्राप्त गरेको मतले कांग्रेसको नेतृत्व चयनमा उनको पक्षमा देखिएको प्रतिनिधिहरूको समर्थनलाई स्पष्ट पारेको छ। अब उनको नेतृत्वमा पार्टी कसरी अघि बढ्छ र उनले उठाउँदै आएका संगठनात्मक सुधार तथा पुस्तान्तरणका मुद्दा कसरी कार्यान्वयन हुन्छन् भन्ने चासो बढेको छ।
विद्यार्थी राजनीतिबाट पार्टी नेतृत्वसम्म
२०३३ साल साउन ४ गते सोलुखुम्बुमा जन्मिएका थापाको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। २०४६ सालको जनआन्दोलनपछि राजनीतिमा सक्रिय भएका उनी नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको केन्द्रीय राजनीतिमा स्थापित भए।
त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य, सचिव र सभापतिको जिम्मेवारी सम्हालेका थापा पछि नेविसंघको केन्द्रीय उपाध्यक्ष र महामन्त्री बने। २०६२–०६३ को जनआन्दोलनका क्रममा राजतन्त्रविरुद्धको आन्दोलनमा सक्रिय भएपछि उनी राष्ट्रिय राजनीतिमा थप चर्चित भए।
संसद् र सरकारको अनुभव
थापा २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका थिए। त्यसपछि २०७०, २०७४ र २०७९ सालमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य बने। २०७३ सालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हुँदा उनले स्वास्थ्य क्षेत्रको सुधारका विषयलाई प्राथमिकता दिएका थिए।
कांग्रेसको १२औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थापा १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भएका थिए। पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको पक्षमा आवाज उठाउँदै आएका उनी विशेष महाधिवेशनपछि बनेको कार्यसमितिको नेतृत्व गर्दै १५औँ महाधिवेशनबाट सभापति निर्वाचित भएका हुन्।
अबको चुनौती
सभापतिमा निर्वाचित हुनु थापाको राजनीतिक यात्राको महत्त्वपूर्ण मोड हो। तर उनको नेतृत्वको वास्तविक परीक्षा पार्टीभित्रको एकता कायम राख्ने, संगठनलाई बलियो बनाउने र उनले अघि सारेका सुधारका एजेन्डालाई व्यवहारमा उतार्ने विषयमा हुनेछ।







