काठमाडौं । सरकारले शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन्।

ADVERTISEMENT

त्यस्तै, माध्यमिक तह तृतीय श्रेणी तथा निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले चार लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

ADVERTISEMENT

नियमावलीमा सवारीसाधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज सरकारले सहुलियतस्वरूप व्यहोर्ने प्रस्ताव छ। बाँकी २० प्रतिशत रकम शिक्षक आफैँले व्यवस्थापन गर्नुपर्नेछ।

प्रस्तावित व्यवस्थाअनुसार शिक्षक सेवामा बहाल रहेसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले व्यहोर्नेछ। तर, यो व्यवस्था कार्यान्वयनमा आउन अर्थ मन्त्रालयको सहमति र नियमावली संशोधन प्रक्रिया पूरा हुनुपर्नेछ।

ADVERTISEMENT