काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वसहमहामन्त्री उदयशमशेर राणाले पार्टीलाई थप गतिशील र सुदृढ बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको बताएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्दै उनले पार्टी नेतृत्वलाई परिणाममुखी बनाउन आफूले भूमिका निर्वाह गर्ने बताएका हुन् ।

ADVERTISEMENT

राणाले मंगलबार राष्ट्रिय सभा गृहमा पुगेर खुलातर्फको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले लामो राजनीतिक यात्राबाट प्राप्त अनुभवलाई पार्टीको वैचारिक स्पष्टता, लोकतान्त्रिक संस्कार र संगठन सुदृढीकरणमा उपयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

ADVERTISEMENT

उनले अबको नेतृत्व भाषणमा मात्र सीमित नभई काम गरेर परिणाम देखाउने हुनुपर्नेमा जोड दिएका छन् । तरुण दलमा अध्यक्ष तथा पार्टीमा विभिन्न जिम्मेवारी सम्हाल्दा आफूले जिम्मेवारीअनुसार काम गरेको उल्लेख गर्दै उनले महामन्त्रीको जिम्मेवारी पाए पनि प्रभावकारी रूपमा काम गर्ने बताए ।

राणाका अनुसार पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दा हासिल गरेको अनुभव नै उनको उम्मेदवारीको आधार हो । उनले पार्टीलाई थप व्यवस्थित, सक्रिय र जनतासँग जोडिएको संगठनका रूपमा अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन् ।

ADVERTISEMENT

कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदको संख्या तीन पुर्‍याइएको छ । नयाँ व्यवस्थाअनुसार दुई जना खुला र एक जना महिला महामन्त्री निर्वाचित हुनेछन् ।