काठमाडौं । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ ।
नाइजेरियन वायुसेनाका अनुसार दुर्घटनामा परेको एटीआर–४२ विमानमा २० यात्रु र चालक दलका पाँच सदस्य गरी २५ जना सवार थिए । विमान नियमित उडानमार्फत देशको आर्थिक राजधानी लागोसतर्फ जाँदै थियो ।
उडान भरेको केही समयपछि विमान राडारबाट सम्पर्कविहीन भएको थियो । त्यसपछि सुरु गरिएको खोजीका क्रममा विमानको भग्नावशेष ओन्डो राज्यको इग्बोकाडा सहरस्थित नौसैनिक अड्डानजिकै नदी किनारमा फेला परेको अधिकारीहरूले बताएका छन् ।
यसअघि नागरिक उड्डयनमन्त्री फेस्टस केयामोले विमानमा ३२ जना सवार रहेको जानकारी दिएका थिए । तर, पछि वायुसेनाले विमानमा २० यात्रु र पाँच चालक दलका सदस्य गरी २५ जना मात्रै रहेको स्पष्ट पारेको हो ।
दुर्घटनाको कारण पत्ता लगाउन नाइजेरियन वायुसेनाले अनुसन्धान सुरु गरेको छ । घटनापछि राष्ट्रपति बोला टिनुबुले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् ।







