काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार दिउँसो असिनासहित वर्षा भएको छ। केही समय परेको एक्कासीको वर्षाका कारण उपत्यकाका विभिन्न स्थानका सडकमा पानी जम्दा सवारी आवतजावत प्रभावित भएको छ।
दिउँसो एक्कासी परेको वर्षाले सडक जलमग्न भएपछि कतिपय स्थानमा सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ। सडकमा पानीको बहाव बढ्दा पैदल यात्रुले समेत सास्ती व्यहोर्नुपरेको छ।
वर्षाका कारण सडकमा पानी जमेकाले सवारी साधनको गति प्रभावित भएको छ भने केही सडकखण्डमा ट्राफिक व्यवस्थापनमा समेत चुनौती देखिएको छ।
ट्राफिक प्रहरीले जलमग्न तथा पानीको बहाव भएका सडकखण्डमा उच्च सतर्कता अपनाउन र सवारी साधनको गति नियन्त्रणमा राख्न चालकहरूलाई आग्रह गरेको छ। साथै, पानी जमेको सडकमा सावधानीपूर्वक सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ।






