काठमाडौं । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन्।पर्यटन विभागका अनुसार २० हिमाल आरोहणका लागि ७१ समूहका ६४८ आरोहीलाई अनुमति दिइएको हो। अनुमति लिनेमा ४८५ पुरुष र १६३ महिला छन्।

देशगत रूपमा चीनका सबैभन्दा धेरै ११८ आरोहीले अनुमति लिएका छन्। त्यसपछि फ्रान्सका ५१, रसियाका ५७, अमेरिकाका ४१, बेलायतका ३८, जर्मनीका ३४, जापानका २१, नेपालका २०, पोल्याण्डका १९, भारतका १८, अष्ट्रेलियाका १७, क्यानडाका १६, चेक रिपब्लिकका १६, स्पेनका १५, स्वीजरल्याण्डका १३ र अन्य विभिन्न देशका आरोही रहेका छन्।

ADVERTISEMENT

आरोहण अनुमति प्रदान गरेबापत पर्यटन विभागले १५ लाख ७१ हजार ६५९ अमेरिकी डलर अर्थात् २३ करोड ८९ लाख ६४ हजार २९८ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।

ADVERTISEMENT

यसपटक सबैभन्दा धेरै आरोहीले मनास्लु (८,१६३ मिटर) आरोहणका लागि अनुमति लिएका छन्। मनास्लुका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति पाएका छन्। उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।

त्यस्तै, धौलागिरि–१ आरोहणका लागि चार टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि दुई टोलीका २० जना, डाङ्गा हिउँचुलीका लागि दुई टोलीका १६ जना र बरुणत्सेका लागि एक टोलीका १० जनाले अनुमति लिएका छन्।

ADVERTISEMENT

विभागका अनुसार मकालु, गङ्गापूर्णा पश्चिम (लाङ्चेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमालका लागि पनि आरोहण अनुमति जारी गरिएको छ।