काठमाडौं । वरिष्ठ कलाकार एवं गीतकार नीर शाहलाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिएको छ ।
गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा पाँच दशकभन्दा लामो समयदेखि नेपाली कला तथा गीत–सङ्गीत क्षेत्रमा योगदान पुर्याएका शाहलाई नगद १ लाख ५१ हजार रुपैयाँसहित सम्मानपत्र, माला र दोसल्ला प्रदान गरिएको हो ।
शाहका ‘बादल बनाई देऊ आकार बदल्न सकुँ’, ‘गहिराइमा डुब्दै नडुब’, ‘पर्खी बसेँ आउला भनी’, ‘कहिलेकाहीँ हाँस्छु धेरै नै हाँस्छु’, ‘तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल’, ‘खुल्दैन ताल्चा त्यो ढोकाको’, ‘हिउँभन्दा चिसो, आगोभन्दा तातो’, ‘आँखैमा कसैको तस्बिर’, ‘अर्को जुनी चाहिँदैन मलाई’, ‘प्यारी वसन्ती’ र ‘पसिनाको जलैले’ लगायत गीत चर्चित छन् ।
यसै वर्षको ‘डायस्पोरा गीतकार सम्मान’ गीतकार नीलम आङ्बुहाङ राईलाई नगद १५ हजार रुपैयाँसहित प्रदान गरिएको छ । विदेशमा रहेर पनि नेपाली गीत लेखनमा सक्रिय राईका ‘पुरानो हुँदैन माया’ र ‘पानी मिठो मेरो हजुर इलाम बजारको’ लगायत गीत चर्चित छन् ।
त्यस्तै, ‘विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान’ लोहोरुङ राई भाषाका स्रष्टा नइन्द्र लोहोरुङ राईलाई नगद २५ हजार २५२ रुपैयाँसहित प्रदान गरिएको छ ।
‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान–२०८२’ बाट गीतकार सुशीला पौडेल र अरुण तिवारीलाई जनही १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
यसै वर्षदेखि सुरु गरिएको ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’ बाट हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाललाई नगद ५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको छ ।
कार्यक्रममा ‘जगतमर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार–२०८२’ कल्पना खरेलको ‘नन्दिनी’ र ज्ञानेन्द्र गदालनको ‘भोलिको आश उज्यालो प्रकाश’ कृतिलाई प्रदान गरिएको थियो । दुवै कृतिको पुरस्कार राशि ५७ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार’ डम्बर याक्सोको ‘म तिम्रो नजरमा’ र प्रबल विष्टको ‘भुल्न सकिनँ’ गीतलाई प्रदान गरिएको छ ।
सम्मान तथा पुरस्कार वितरणसँगै कार्यक्रममा अग्रज गीतकारका १० वटा कालजयी गीत प्रत्यक्ष सङ्गीतसहित प्रस्तुत गरिएको थियो । वरिष्ठ सङ्गीतकार अशोककुमार राईको सङ्गीत संयोजनमा १५ जना वाद्यवादकले प्रत्यक्ष सङ्गीत दिएका थिए ।
कार्यक्रममा गीतकार सङ्घ नेपालका आजीवन सदस्यता प्राप्त गीतकारलाई प्रमाणपत्र वितरण गर्नुका साथै कार्यक्रमलाई विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई मायाको चिनो प्रदान गरिएको थियो ।
सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाका अनुसार कार्यक्रमका लागि छुट्याइएको रकममध्ये १ लाख १५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको छ ।








