काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका कञ्चनुपरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षसँग भेटेका छन् ।
विपिनको खोजीको लागि इजरायल पुगेकी आमा पद्मा र बहिनी पुष्पाले राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गरेका हुन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा भएको भेटवार्तामा राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए ।
भेटका क्रममा आमा पदमाले विपिनको तत्काल रिहाइका लागि पहल गरिदिन राष्ट्रपति हर्जोगसँग अनुरोध गरेकी थिइन् ।बहिनी पुष्पाले पनि बन्धक बनाइएका दाजुलाई सुरक्षित नेपाल फर्काउन विशेष पहल गर्न आग्रह गरेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार राष्ट्रपति हर्जोगले विपिनको घटनाबारे आफू र सरकार निरन्तर सचेत रहेको बताएका थिए । ‘नेपाली विद्यार्थी विपिन हाम्रा आफ्नै नागरिक जस्तै लाग्छन् ।
उनको रिहाइका लागि हाम्रो सरकार दिनरात प्रयत्नरत छ’, राष्ट्रपति हर्जोगको भनाइ उद्धृत गर्दै दूतावासले भन्यो । साथै, नेपाली सरकार पक्षले समेत सम्बन्धित अरब मुलुकहरूसँग थप पहल गर्न सके प्रगति हुने विश्वास उनले व्यक्त गरेका थिए ।
संसद अध्यक्ष अमिरसँग पनि विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरिएको छ । अमिरले पनि विपिनबारे रिहाइको प्रयास जारी राखेको जवाफ दिएका थिए ।







