चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ करेन्ट लागेर मरेको पुष्टि भएको छ।

बिसहजारी ताल नजिकैको कुमाल तालको छेउमा आज बिहान मृत अवस्थामा भेटिएको रोनाल्डोलाई सेनाको ब्यारेकमा लगिएको विद्युत् तारबाट करेन्ट लागेको बताइएको छ।

ADVERTISEMENT

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकमा बिसहजारी तालको गेटतर्फबाट लगिएको विद्युत् तारमा रोनाल्डोले तान्दा तार झरेर करेन्ट लागेको स्रोतको भनाइ छ।

ADVERTISEMENT

रोनाल्डोले घाँस तान्ने क्रममा तारसमेत झारेको र बाहिर इन्सुलेसन गरिएको तार चपाउँदा करेन्ट मुख तथा जिब्रोमा लागेको बताइएको छ। उनको मुख र जिब्रोको केही भाग डढेको अवस्थामा भेटिएको थियो।

५३ वर्षीय रोनाल्डो सौराहास्थित हात्ती प्रजनन केन्द्रका पोथी हात्तीसँग प्रजनन गराउने प्रमुख भाले हात्तीमध्ये एक थिए। करिब २४ वर्षअघि निकुञ्जमा देखिएको रोनाल्डो ३८ वटा छावाको बुवा रहेको निकुञ्जले जनाएको छ।

ADVERTISEMENT

रोनाल्डोको पोस्टमार्टमपछि शव गाड्ने तयारी भइरहेको छ। घटनाबारे निकुञ्जले भने औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।

रोनाल्डोको मृत्युसँगै निकुञ्जमा रहेका पोथी हात्तीको प्रजननका लागि अब गोविन्दे र ध्रुवे भाले हात्ती मात्र बाँकी रहनेछन्।