विराटनगर, असोज १ । आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ। यससम्बन्धी सम्झौता एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच आज विराटनगरमा भएको हो।

सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’ का रूपमा विराट एक्स्पोसँग जोडिएका छन्।

ADVERTISEMENT

उद्योग संगठन मोरङले करिब तीन दशकदेखि आयोजना गर्दै आएको विराट एक्स्पोको यो नवौँ संस्करण हो। आयोजकका अनुसार एक्स्पो पूर्वी नेपालको महत्वपूर्ण औद्योगिक तथा व्यापारिक प्रदर्शनीका रूपमा स्थापित छ।

ADVERTISEMENT

यस वर्षको एक्स्पोलाई परम्परागत प्रदर्शनीभन्दा फराकिलो बनाउँदै लर्न एण्ड वर्क, बिल्ड, कनेक्ट, इन्फ्लुएन्स, व्यापार विस्तार र मनोरञ्जन लगायतका अवसरसँग जोडिने आयोजकले जनाएको छ।

एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्माताको सहभागिता रहनेछ। आयोजकले २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरेको छ।

ADVERTISEMENT

सम्झौता कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले एक्स्ट्रिम इनर्जी ड्रिंकसँगको सहकार्यले विराट एक्स्पोको प्रभाव र पहुँच अझ विस्तार हुने बताए। उनका अनुसार एक्स्पो उत्पादन तथा सेवाको प्रदर्शनमा मात्र सीमित नभई उद्योग, व्यापार, उद्यमशीलता, लगानी, रोजगारी र नयाँ अवसरलाई जोड्ने साझा मञ्च हो।

विराट एक्स्पो २०२६ का संयोजक विपिन काबराले मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंकको सहभागिताले एक्स्पोमा थप ऊर्जा र आकर्षण थपिने बताए। उनका अनुसार साझेदारीलाई ब्रान्ड प्रवद्र्धनमा मात्र सीमित नराखी एक्स्पोका विभिन्न गतिविधि र अवसरसँग जोडिनेछ।

एक्स्ट्रिम इनर्जी ड्रिंककी व्यापार प्रमुख सोनिया राणाले विराट एक्स्पोको नवौँ संस्करणमा मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु महत्वपूर्ण अवसर भएको बताइन्। उनले एक्स्पोका विभिन्न गतिविधिमार्फत साझेदारीलाई प्रभावकारी र अर्थपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

उद्योग संगठन मोरङका अनुसार विराट एक्स्पो २०२६ ले उद्योग, व्यापार, प्रविधि, लगानी, उद्यमशीलता र नयाँ पुस्ताका अवसरलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको छ।