काठमाडौं । नेपालले पहिलोपटक नेपालमै कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)को संयुक्त पहलमा आगामी मार्चमा नेपाल र बंगलादेशबीच तीन खेलको टी–२०आई शृङ्खला कीर्तिपुरमा आयोजना हुने भएको हो।
क्यानका अनुसार शृङ्खलाका खेलहरू सन् २०२७ मार्च २६, २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्। क्यानले यो शृङ्खला नेपालले आयोजना गर्ने अहिलेसम्मकै ठूलो द्विपक्षीय शृङ्खला हुने जनाएको छ। बंगलादेश टेस्ट राष्ट्र भएकाले नेपालमा आएर द्विपक्षीय शृङ्खला खेल्न लागेको यो पहिलो अवसरसमेत हुनेछ।
शृङ्खला हालै नेपालमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा समर्पित गरिने भएको छ। प्रतियोगितामार्फत दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवार तथा विपद्प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाइने क्यानले जनाएको छ।
क्यान र बीसीबीले क्रिकेटलाई दुई देशका जनतालाई जोड्ने माध्यमका रूपमा अघि बढाउँदै शृङ्खलामार्फत मित्रता, मानवीय संवेदना र सहकार्यको सन्देश दिने बताएका छन्।
दुवै बोर्डबीचको सहकार्य टी–२०आई शृङ्खलामा मात्र सीमित नरहने भएको छ। बीसीबीले नेपालको महिला क्रिकेट, उमेर समूहको क्रिकेट तथा क्षमता अभिवृद्धिका कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, भविष्यमा नेपाल ‘ए’ टोलीका भ्रमण तथा नेपाल र बंगलादेशका ‘ए’ टोलीबीच द्विपक्षीय शृङ्खला आयोजना गर्न पनि प्रोत्साहन गरिने जनाइएको छ।
क्यान र बीसीबीले क्रिकेटमार्फत दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउँदै नेपालको क्रिकेट विकासमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।






