चीनसँगका प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ र तातोपानी बन्द भएपछि कोरला नाका हुँदै हुने आयात बढेको छ । मुस्ताङ भन्सार कार्यालयका अनुसार भदौ १० देखि २५ गतेसम्म १५ दिनमा ६४१ वटा विद्युतीय सवारी (ईभी) र ४३४ वटा कन्टेनर जाँचपास भएका छन् । यस अवधिमा मात्रै भन्सार कार्यालयले १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
भदौ १० गते आएको बाढीपहिरोका कारण रसुवागढी–केरुङ र तातोपानी नाका पूर्ण रूपमा ठप्प भएपछि चीनबाट हुने आयात कोरला नाकातर्फ मोडिएको हो । त्यसयता कोरला नाका चीनसँगको मुख्य वैकल्पिक व्यापारिक मार्गका रूपमा सक्रिय हुँदै गएको छ ।
भन्सार कार्यालयका अनुसार भदौ २२ गतेयता कोरला नाकाबाट दैनिक औसत ३० करोड रुपैयाँ हाराहारी राजस्व संकलन भइरहेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरला नाका हुँदै आएका सवारी तथा मालवाहक सवारीबाट कुल २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा भने कोरला नाकाबाट ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।





