काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले राजविराज नगरपालिका–१४, पर्साकी बबिता पासवानले अस्पतालको पेटीमै बच्चा जन्माउन बाध्य भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले प्रधानमन्त्री बालेन शाहले चुनावका बेला ‘गोजीमा पैसा नहुँदा उपचारबाट वञ्चित हुनुपर्दैन’ भन्ने घोषणा गरेको स्मरण गराउँदै उक्त घटनाले सरकारको स्वास्थ्यसम्बन्धी प्रतिबद्धतामाथि प्रश्न उठाएको बताइन्।

ADVERTISEMENT

उनका अनुसार बबिताका श्रीमान्सँग २ हजार रुपैयाँ मात्रै थियो। अस्पतालमा आवश्यक १ हजार २ सय रुपैयाँ अपुग भएपछि थप पैसा खोज्न श्रीमान् बाहिर गएको समयमा बबिताले अस्पतालको पेटीमै बच्चा जन्माउनुपरेको थियो।

ADVERTISEMENT

ओलीले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनिन्, ‘तपाईंले घोषणा गर्नुभएको एजेण्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ?’

उनले घटनाबारे प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसँग जवाफ माग गरेकी छन्। अन्य सांसदहरूले पनि आर्थिक अभावका कारण गर्भवती महिलाले अस्पतालमै यस्तो अवस्था भोग्नुपरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै जवाफ मागेका छन्।

ADVERTISEMENT