जनकपुरधाम । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालअगाडि बुधबार बिहान एउटा विपन्न महिलाले फुटपाथमै बच्चा जन्माएको घटना सार्वजनिक भएको छ।
राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानलाई मंगलबार राति करिब डेढ बजे प्रसव व्यथा लागेपछि उनका श्रीमान् हरेराम पासवानसहित परिवारका सदस्यले सिटी रिक्सामा अस्पताल पुर्याएका थिए।
पीडित परिवारका अनुसार अस्पताल पुगेपछि प्रसूति विभागमा कार्यरत स्वास्थ्यकर्मीले अल्ट्रासाउन्ड तथा रगत र पिसाब परीक्षण गर्नुपर्ने भन्दै करिब २ हजार ५ सय रुपैयाँ लाग्ने बताएका थिए। तर, पैसा नभएको भन्दै बबिताले तत्काल भर्ना गरेर उपचार गरिदिन आग्रह गरेकी थिइन्।
उनले यसअघि आफ्ना तीन सन्तान सामान्य रूपमा जन्मिएको र कुनै परीक्षण नगराएको बताउँदै बिहान भएपछि आवश्यक जाँच गराउने आग्रह गरे पनि भर्ना गर्न नमानेको दाबी गरेकी छन्।
अस्पतालबाट बाहिरिएपछि उनी नजिकैको औषधि पसलअगाडि बसेकी थिइन्। केहीबेरमै प्रसव पीडा बढेपछि आफन्तकै सहयोगमा उनले त्यहीँ छोरालाई जन्म दिइन्।
घटनाको भिडियो सार्वजनिक भएपछि सरकारी अस्पतालमा विपन्न महिलाले उपचार नपाएको भन्दै चर्को आलोचना भइरहेको छ। घटनामा दोषी देखिए कारबाही गर्नुपर्ने मागसमेत उठेको छ।
यता अस्पतालका प्रतिनिधिले भने बबिता आवश्यक परीक्षणका लागि प्रयोगशाला गएको तर त्यहाँबाट फर्किएको दाबी गरेका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले घटनाबारे छानबिन गर्न समिति गठन गर्ने बताएका छन्।
गरिब तथा विपन्नका लागि अस्पतालमा निःशुल्क उपचार र शय्या छुट्याउने कानुनी व्यवस्था हुँदाहुँदै सरकारी अस्पतालकै गेटअगाडि एउटी आमाले बच्चा जन्माउनुपर्ने अवस्था सिर्जना भएको घटनाले स्वास्थ्य सेवाको पहुँच र कार्यान्वयनमाथि गम्भीर प्रश्न खडा गरेको छ।






