काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हैजालगायत संक्रामक रोग फैलिन नदिन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार सरकारसँग मौज्दात रहेको हैजाविरुद्धको १ लाख २ हजार १२३ डोज खोप बाढी प्रभावित क्षेत्रमा पठाउन थालिएको छ।
अभियानअन्तर्गत रसुवामा मुखबाट दिइने २१ हजार ६०० डोज खोप हेलिकप्टरमार्फत पठाइसकिएको छ। रसुवामा भदौ २५ गतेदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।
त्यस्तै, नुवाकोटमा ८० हजार ५२३ डोज खोप स्थलमार्गबाट पठाइँदैछ। नुवाकोटमा पनि यही साताभित्र खोप अभियान सुरु गर्ने सरकारको तयारी छ।
वडा कार्यालयस्तरमा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित क्षेत्रका नागरिकलाई खोप दिइनेछ। एक वर्ष वा सोभन्दा माथिका सबै नागरिकलाई हैजाविरुद्धको खोप दिने तयारी गरिएको छ।
यसैगरी, रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा टिडी तथा दादुरा–रुबेला खोप अभियानसमेत सञ्चालन गरिने भएको छ। उद्धार तथा राहतमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र चोटपटक लागेका नागरिकलाई टिटानसबाट जोगाउन टिडी खोप दिइनेछ।
दादुरा–रुबेला खोप भने ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी आगामी दुई साताभित्र सञ्चालन गर्ने सरकारको योजना छ।
खोप ऐनअन्तर्गत गठित राष्ट्रिय खोप सल्लाहकार समितिले बाढी प्रभावित क्षेत्रमा सरसफाइको कमीका कारण हैजा तथा अन्य संक्रामक रोग फैलिन सक्ने जोखिम रहेकाले पूर्वतयारीस्वरूप खोप अभियान सञ्चालन गर्न सिफारिस गरेको हो।
खोप तथा स्वास्थ्य सेवासम्बन्धी जानकारीका लागि ‘हेलो स्वास्थ्य’को टोल फ्री नम्बर १११५ मा सम्पर्क गर्न सकिनेछ।






