काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको १५औँ महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रियामा सीमित नगरी वैचारिक पुनर्जागरण र संगठनात्मक रूपान्तरणको ऐतिहासिक अवसर बनाउनुपर्ने बताएका छन्।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा धारणा राख्दै आङ्देम्बेले कांग्रेसको मुख्य संकट नेतृत्वको नभई ‘राजनीतिक प्रयोजन’को रहेको बताएका हुन्।

ADVERTISEMENT

२१औँ शताब्दीको नेपालमा नेपाली कांग्रेस किन आवश्यक छ भन्ने प्रश्नको स्पष्ट उत्तर खोज्नुपर्ने उनको भनाइ छ। ‘कांग्रेसको अहिलेको मुख्य संकट नेतृत्वको होइन, राजनीतिक प्रयोजनको संकट हो। २१औँ शताब्दीको नेपालमा नेपाली कांग्रेस किन आवश्यक छ भन्ने प्रश्नको उत्तर स्पष्ट भएन भने महाधिवेशनले नेतृत्व त बदल्न सक्छ, तर पार्टीको दिशा बदल्न सक्दैन,’ उनले भने।

ADVERTISEMENT

आङ्देम्बेले महाधिवेशनलाई पदाधिकारी चयनको प्रतिस्पर्धामा मात्र सीमित नगरी अर्थतन्त्र, विकासको नयाँ ढाँचा, संघीयता कार्यान्वयन, सामाजिक लोकतन्त्र, सुशासन, राज्य सुधार तथा युवा र प्रविधिको भूमिकाबारे राष्ट्रिय बहसको मञ्च बनाउनुपर्ने प्रस्ताव गरेका छन्।

उनले कांग्रेसको वैचारिक दस्तावेजलाई समेत नयाँ युगअनुकूल अद्यावधिक गर्नुपर्ने बताएका छन्। कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, सामाजिक सुरक्षा, श्रम आप्रवासन, प्रतिभा पलायन र दक्ष जनशक्तिको अभावजस्ता समसामयिक विषयमा पार्टीको स्पष्ट दृष्टिकोण आवश्यक रहेको उनले बताए।

ADVERTISEMENT

आङ्देम्बेले आगामी १६–१७ वर्षको विकासको खाका समेटिएको ‘राष्ट्र निर्माण एजेन्डा २१००’ ल्याउनुपर्ने प्रस्ताव पनि गरेका छन्। अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषि, उद्योग, सुशासन, न्याय, खाद्य तथा पोषण र डिजिटल नेपालका मापनयोग्य लक्ष्य उक्त एजेन्डामा समेटिनुपर्ने उनको भनाइ छ।

त्यस्तै, पार्टीभित्रको गुट र उपगुटको प्रभाव अन्त्य गर्दै संस्थागत बहस र मत व्यवस्थापनको संस्कृति विकास गर्नुपर्ने उनले बताएका छन्। कांग्रेसलाई चुनाव र सरकार केन्द्रित दलबाट ‘पोलिसी पार्टी’ अर्थात् नीति तथा वैचारिक पार्टीका रूपमा विकास गर्नुपर्ने उनको प्रस्ताव छ।

पार्टी सञ्चालन प्रणालीमा संस्थागत सुधार, दोस्रो पुस्तालाई वास्तविक नेतृत्व, युवा, महिला, विज्ञ तथा डायस्पोरालाई निर्णय प्रक्रियामा स्थान र प्रतिपक्षमा हुँदा वैकल्पिक सरकारको भूमिकामा प्रस्तुत हुनुपर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।

बीपी कोइरालाको विरासतलाई नारामा मात्र सीमित नराखी नीति र व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिँदै आङ्देम्बेले भने, ‘अब बीपीलाई सम्झनेभन्दा बीपीलाई लागू गर्ने महाधिवेशन हुनुपर्छ।’

दसौँ प्रस्तावका रूपमा उनले कांग्रेस सरकार बनाउने पार्टी मात्र नभई ‘नेपाल बनाउने पार्टी’ हो कि होइन भन्ने ऐतिहासिक प्रश्न महाधिवेशनले उठाउनुपर्ने बताएका छन्।

आङ्देम्बेले ‘नेपाली कांग्रेस २१०० : वैचारिक पुनर्जागरण र संगठनात्मक रूपान्तरण’ शीर्षकमा सन्दर्भ दस्तावेज तयार गर्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन्।

दस्तावेजमा पार्टी किन बदलिनुपर्छ, २१औँ शताब्दीको सामाजिक लोकतन्त्रको नेपाली मोडेल, संगठनात्मक सुधारका प्रस्ताव, सरकार तथा प्रतिपक्षमा पार्टीको कार्यशैली र महाधिवेशनपछिको पहिलो १०० दिनको कार्ययोजना समेट्नुपर्ने उनको सुझाव छ।