काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले ८० करोड रुपैयाँ बराबरको नयाँ म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डअन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित दरका ८ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।
कुल इकाईमध्ये बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात् बढीमा १ करोड २० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ। बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ।
फण्डको इकाईका लागि असोज ७ गतेदेखि असोज १३ गतेसम्म आवेदन दिन सकिनेछ। पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असोज २१ गतेसम्म थप गर्न सकिने व्यवस्था छ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। निष्काशन अवधिमा कम्तीमा ५० प्रतिशत अर्थात् ४ करोड इकाईका लागि आवेदन परेमा इकाई बाँडफाँट गर्न सकिनेछ। न्यूनतम इकाई बिक्री नभए योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गर्ने व्यवस्था छ।
एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो १० वर्ष अवधिको बन्दमुखी योजना हो। यसको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल नै रहेको छ। लगानीकर्ताले बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरको वेब तथा एपमार्फत आवेदन दिन सक्नेछन्।






