काठमाडौं । चर्चित गायिका विष्णु माझीको तीज गीत ‘घरबार’लाई युट्युबमा व्यापक रुचाइएको छ। बुधबार साँझ सार्वजनिक गीतको भिडिओ दुई दिन नपुग्दै २१ लाख पटक हेरिएको हो।
यो खबर तयार पार्दासम्म (शुक्रबार दिउँसो) गीतलाई २१ लाख भ्युज प्राप्त भइसकेको छ। गीतको भिडिओमा ८७ हजार लाइक छ भने ५ हजारभन्दा बढी जनाले कमेन्ट गरेका छन्।
राम्रो प्रतिक्रिया पाइरहेको गीतका अंश यतिखेर टिकटकदेखि सामाजिक सञ्जालमा भाइरल छन्। र, दर्शकहरूले पनि विष्णुको गीत आएजस्तै बल्ल तीज आएकोजस्तो लागेको भन्दै कमेन्ट गरिरहेका छन्।
यो गीत विष्णु माझीको चर्चित तीज गीत एल्बम ‘पुतलीको भट्टी’ भाग २२ मा समावेश छ। यस गीतमा पनि सधैँझै महिलाको विवाहित महिलाको पीडा र वेदना प्रस्तुत गरिएको छ।
गीतमा विष्णुको एकल स्वर सुन्न सकिन्छ। गीतमा उनका श्रीमान् सुन्दरमणि अधिकारीको रचना तथा संगीत छ। गीतको भिडिओमा भने सुन्दरमणीसहित ललिता पौडेलको अभिनय देख्न सकिन्छ।
सुन्दरमणिकै निर्देशनमा बनेको भिडिओका कोरियोग्राफर मौसम हिमाली हुन्।






