काठमाडौं । बंगलादेशले सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर अर्थात् करिब १५ करोड २० लाख नेपाली रुपैयाँ सहयोग गरेको छ । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि जारी उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहायता अभियानलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।
बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले नेपालका लागि बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाएको पत्र नेपालका लागि बंगलादेशका नेपाली राजदूत घनश्याम भण्डारीलाई हस्तान्तरण गर्दै उक्त सहयोगबारे जानकारी गराएका हुन् ।
यसअघि सेप्टेम्बर १ मा विदेश राज्यमन्त्री कबिरले ढाकास्थित नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भोटेकोशी बाढी विपद्प्रति दुःख व्यक्त गरेका थिए ।
बंगलादेशका प्रधानमन्त्री, राष्ट्रपति, संसद् तथा विदेश मन्त्रालयले नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोगका लागि प्रतिबद्धता जनाएका थिए ।
बंगलादेशको आर्थिक सहयोगले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






