काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का फणीन्द्र देवकोटा गण्डकी प्रदेशमा तेस्रोपटक मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्री देवकोटाले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उनी २०८१ जेठ र असारमा गरी दुईपटक यही मन्त्रालयको मन्त्री बनेका थिए ।
माओवादी केन्द्रको ह्वीप उल्लंघन गर्दै तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि देवकोटा पहिलोपटक मन्त्री बनेका थिए । त्यसपछि माओवादी केन्द्रले गरेको कारबाहीका कारण उनले पद गुमाएका थिए । सर्वोच्च अदालतले कारबाही बदर गर्दै पुनर्बहाली गरेपछि उनी पुनः मन्त्री बनेका थिए ।

एमाले सरकारबाट बाहिरिएपछि गण्डकी प्रदेशमा मन्त्रालय हेरफेर गरिएको हो । यसअघि ऊर्जा मन्त्रालय सम्हालिरहेका कांग्रेसका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार, विकास तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
एमालेले छाडेको उद्योग तथा पर्यटन र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय भने मुख्यमन्त्री पाण्डेले आफैँसँग राखेका छन् ।
देवकोटा मन्त्री बनेसँगै २०७९ को निर्वाचनमा गोरखाबाट निर्वाचित चारमध्ये तीन जना प्रदेश सरकारको मन्त्रिमण्डलमा पुगेका छन् । गोरखा २(ख) बाट निर्वाचित पाण्डे मुख्यमन्त्री, गोरखा २(क) बाट निर्वाचित देवकोटा ऊर्जामन्त्री र गोरखा १(ख) बाट निर्वाचित न्यौपाने भौतिकमन्त्री बनेका छन्। गोरखा १(१) बाट निर्वाचित कृष्णप्रसाद धिताल भने प्रदेश सभाका सभामुख छन् ।

कांग्रेस–एमाले सहकार्य टुटेपछि अन्य प्रदेशमा राजनीतिक संकट देखिए पनि गण्डकीमा भने सरकारको समीकरणमा ठूलो असर परेको छैन । एमाले सरकारबाट बाहिरिए पनि देवकोटाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका छैनन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी नभए पनि सरकारलाई समर्थन गर्दै आएको छ ।
५९ सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७ सांसद छन्। देवकोटा र राप्रपाका दुई सांसदको समर्थनसमेत जोड्दा मुख्यमन्त्री पाण्डेको पक्षमा आवश्यक ३० सांसदको बहुमत कायम रहेको छ ।







