काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलन भएको रकममध्ये १ अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा तत्काल परिचालन गरिने भएको छ । भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार, राहत तथा आवश्यक व्यवस्थापनका लागि उक्त रकम खर्च गर्न मिल्ने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट विपद् व्यवस्थापन कोषमा पठाइएको हो ।

मंगलबार बसेको विपद् व्यवस्थापन कोष सञ्चालन समितिको बैठकले प्रभावित क्षेत्रमा तत्काल १ अर्ब रुपैयाँ परिचालन गर्ने निर्णय गरेको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ अनुसार विपद् व्यवस्थापन कोषमा आएको रकम गृहसचिवले व्यवस्थापन गर्ने व्यवस्था छ ।

ADVERTISEMENT

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको एभरेस्ट बैंकमा रहेको खाताबाट १ अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा स्थानान्तरण गरिएको जनाइएको छ । हालसम्म विभिन्न बैंक खातामार्फत राहत कोषमा करिब ५ अर्ब रुपैयाँ सहयोग संकलन भइसकेको छ ।

ADVERTISEMENT

निकासा भएको रकम प्रभावित क्षेत्रको आवश्यकता र मागका आधारमा प्रयोग गरिनेछ । उद्धार तथा राहतसँगै बाढीबाट क्षतिग्रस्त पूर्वाधारको तत्काल सुधार, अस्थायी आवास निर्माणलगायतका काममा रकम खर्च गर्न सकिनेछ ।

यसका लागि प्रभावित पालिका वा जिल्लाका विपद् व्यवस्थापन समितिले आवश्यकताअनुसार रकम माग गर्न सक्नेछन् । प्राप्त माग र आवश्यकताको मूल्यांकनपछि गृहसचिव नेतृत्वको समितिले रकम वितरण गर्ने व्यवस्था गरिएको छ ।

ADVERTISEMENT

यसरी निकासा भएको रकम बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा विपद्पछिको आवश्यक व्यवस्थापनमा खर्च गरिनेछ ।