काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र आबद्ध कम्पनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ करोड १ रुपैयाँ सहयोग गरेका छन्।
इप्पानका अनुसार भोटेकोशी बाढीबाट ८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन गरी १२ जलविद्युत् आयोजनाका संरचना ध्वस्त भएका छन्। अन्य आयोजना प्रभावित हुँदा करिब ४३१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ।
बाढीबाट ऊर्जा क्षेत्रमा कार्यरत इन्जिनियर, प्राविधिक तथा कामदारसमेत प्रभावित भएको इप्पानले जनाएको छ।
संकलित सहयोग रकम इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। इप्पान आबद्ध कम्पनीहरूले ५० हजारदेखि १ करोड ६५ लाख रुपैयाँसम्म सहयोग गरेका छन्।
सरकारले उक्त सहयोग पुनःस्थापना तथा पुनर्निर्माणका कार्यमा उपयोग गर्ने जनाएको छ।






