काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष सञ्जना अर्याल, सञ्चालक वीरेन्द्रजंग पाण्डे, शमशेर पराजुली तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति कम्पनीले दुःख व्यक्त गरेको छ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरेको सहयोगबाट प्रभावित नागरिकको खोजी तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरेको छ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्राकृतिक विपद् तथा संकटका समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको जनाएको छ। कम्पनीले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ताको शीघ्र खोजी र घाइतेको उपचारका लागि काम गरिरहेका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।








