ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
समितिले सोमबार रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो। साथै विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि बनाएर लागू गर्ने निर्णयसमेत गरेको समितिले जनाएको छ।
त्यस्तै, ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ६ लाख ५१ हजार ७६४ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि उक्त रकम सहयोग गरिएको हो।
गाउँपालिकाको ६८औँ कार्यपालिका बैठकले विपद् व्यवस्थापन कोष, जनप्रतिनिधिको १५ दिनको सेवासुविधा तथा कर्मचारीको आधारभूत तलबको १० प्रतिशत रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।
गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमुका अनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १ लाख रुपैयाँ र २८ जना जनप्रतिनिधिको १५ दिनको सेवासुविधाबापत १ लाख ७७ हजार ४५७ रुपैयाँ जम्मा गरिएको छ।
त्यस्तै, गाउँपालिकामा कार्यरत १०२ जना कर्मचारीको आधारभूत तलबको १० प्रतिशतबापत ३ लाख ७४ हजार ३०७ रुपैयाँ संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीले जानकारी दिनुभयो।
यसरी पाथीभरा क्षेत्र विकास समिति र आठराई त्रिवेणी गाउँपालिकाले बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आर्थिक सहयोग गरेका हुन्।






