काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक नगर्न अपील गरेको छ।

परिषद्ले मंगलबार सूचना जारी गर्दै भदौ १० गते आएको बाढीबाट प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराउने क्रममा खिचिएका फोटो तथा भिडियो सार्वजनिक नगर्न व्यक्ति तथा सम्बन्धित संस्थालाई आग्रह गरेको हो।

ADVERTISEMENT

पीडित तथा प्रभावित बालबालिकाको गोपनीयता, मर्यादा र बाल अधिकारको सम्मान गर्नुपर्ने भएकाले उनीहरूको फोटो तथा भिडियो कुनै पनि सामाजिक सञ्जालमा पोस्ट गर्ने वा गराउने कार्य नगर्न परिषद्ले अनुरोध गरेको छ।

ADVERTISEMENT

परिषद्ले फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिंक्डइन, थ्रेड्स, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप तथा एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जालमा त्यस्ता सामग्री सार्वजनिक नगर्न आग्रह गरेको हो। विपद्को समयमा बालबालिकाको उद्धार तथा राहत कार्य गर्दा उनीहरूको सुरक्षा र सम्मानलाई प्राथमिकतामा राख्नुपर्ने परिषद्को भनाइ छ।

 

ADVERTISEMENT