काठमाडौं । रसुवाको टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढी र पहिरोले ढुवानी व्यवसायमा ठूलो क्षति पुर्याएको छ। बाढीमा चार सयभन्दा बढी ट्रक तथा कन्टेनर बेपत्ता भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले जानकारी दिएका छन्।
उनका अनुसार बाढीमा बेपत्ता भएका अधिकांश गाडीका चालक तथा सहचालकसमेत अहिलेसम्म सम्पर्कमा आएका छैनन्। टिमुरेबाट भाग्न सफल केही चालक सम्पर्कमा आए पनि ठूलो संख्यामा चालक तथा सहचालकको अवस्था अझै अज्ञात रहेको उनले बताए।
बाढीले ठूलो क्षेत्र प्रभावित बनाएकाले कुन गाडी केरुङ प्रवेश गरिसकेको थियो, कुन सडकमा थियो, कति भन्सार यार्डमा थिए र कति भन्सार प्रक्रिया पूरा गरेर फर्किंदै थिए भन्ने यकिन विवरण संकलन गर्न कठिन भएको व्यवसायीहरूले बताएका छन्।
विभिन्न ट्रक तथा कन्टेनर व्यवसायी संघसंस्थासँग समन्वय गरेर विवरण संकलन भइरहेको छ। प्रारम्भिक रूपमा दुईदेखि तीन सय गाडीको सूची तयार भए पनि सबै गाडी एउटै संघसंस्थामा आबद्ध नभएकाले तथ्यांक एकीकृत गर्न समय लागिरहेको छ।
स्याफ्रुबेँसी र भन्सार क्षेत्रमा ठूलो क्षति
व्यवसायीका अनुसार स्याफ्रुबेँसी आसपास मात्रै करिब ४५ वटा गाडी बाढीमा परेको जानकारी आएको छ। त्यस्तै, स्याफ्रुबेँसीभन्दा माथि रोङ्गा क्षेत्रमा पार्किङ गरेर राखिएका करिब ३५ वटा गाडीसमेत बाढीले बगाएको बताइएको छ।
भन्सार प्रक्रिया पूरा गरेर बाहिरिने क्रममा रहेका गाडीसमेत बाढीको चपेटामा परेका छन्। व्यवसायीका अनुसार भन्सार क्षेत्रमा मात्रै करिब ७० देखि ८० वटा गाडी प्रभावित भएका थिए।
बाढीका कारण गाडीमा लोड गरिएका व्यापारीका सामानमा समेत ठूलो क्षति पुगेको छ। विशेषगरी चाडपर्वको समय नजिकिँदै गर्दा चीनबाट ठूलो मूल्यका सामान नेपाल ल्याइँदै गरेकाले व्यापारीको क्षति थप बढ्न सक्ने व्यवसायीहरूको भनाइ छ।
गाडीको मूल्य मात्रै करोडौँ
नयाँ ट्रक तथा कन्टेनरको मूल्य ८०–९० लाख रुपैयाँसम्म पर्ने र पुराना गाडीको मूल्यसमेत ३०–६० लाख रुपैयाँसम्म पर्ने व्यवसायीहरूले बताएका छन्। यद्यपि कुन मोडेलका कति गाडी क्षतिग्रस्त वा बेपत्ता भए भन्ने यकिन विवरण तयार नभएकाले कुल आर्थिक क्षति निर्धारण भइसकेको छैन।
व्यवसायीहरूले चार–पाँच सय गाडी क्षतिमा परेको प्रारम्भिक अनुमान गरे पनि विस्तृत विवरण संकलनपछि यो संख्या अझ बढ्न सक्ने बताएका छन्।
बीमा र शव पहिचानमा चुनौती
बाढीमा परेका गाडी तथा चालक–सहचालकको बीमासम्बन्धी विवरण पनि संकलन भइरहेको छ। अधिकांश गाडीको कुनै न कुनै प्रकारको बीमा भए पनि बीमाको प्रकृति फरक–फरक रहेकाले क्षतिपूर्ति प्रक्रियामा चुनौती हुनसक्ने व्यवसायीहरूको भनाइ छ।
बाढीपछि विभिन्न स्थानमा भेटिएका शवको पहिचानमा समेत समस्या देखिएको छ। केही चालक तथा मजदुरको शव पहिचान भए पनि धेरैको अवस्था अझै अज्ञात रहेको बताइएको छ।
व्यवसायीहरूले शव व्यवस्थित रूपमा संकलन गरी पहिचान तथा सनाखतको प्रक्रिया तीव्र बनाउन सरकारसँग आग्रह गरेका छन्।
तथ्यांक र क्षतिपूर्तिका लागि सरकारी पहल माग
ढुवानी व्यवसायीहरूले बेपत्ता व्यक्ति तथा गाडीको आधिकारिक तथ्यांक तयार गर्न सरकारसँग समन्वयको माग गरेका छन्। गाडी नम्बर, चालक–सहचालकको विवरण, बीमा अवस्था र क्षतिको प्रकृति समेटेर एकीकृत तथ्यांक तयार गर्नुपर्ने उनीहरूको भनाइ छ।
त्यस्तै, चीनको केरुङतर्फ रहेका नेपाली कन्टेनर तथा सामानको सुरक्षाका लागि समेत सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरिएको छ। व्यवसायीका अनुसार केही सामान लोड भएका गाडी केरुङमै सुरक्षित अवस्थामा छन् भने नेपालतर्फ आउने तयारीमा रहेका धेरै गाडीको आवागमन प्रभावित भएको छ।
रसुवाको बाढीले मानवीय क्षतिसँगै सीमापार व्यापार, ढुवानी व्यवसाय र व्यापारीका सामानमा समेत ठूलो असर पारेको छ। बेपत्ता गाडी तथा व्यक्तिको यकिन विवरण संकलन भइसकेपछि क्षतिको वास्तविक आकार अझ स्पष्ट हुने व्यवसायीहरूको भनाइ छ।






