काठमाडौँ, भदौ १६ गते । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखातर्फको त्रिशूली नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार त्रिशूली नदीको तटीय क्षेत्रमा खोजी गर्ने क्रममा शर्माको शव फेला परेको हो।
हुम्लाको ताजाकोट गाउँपालिका–२ का स्थानीय शर्मा टिमुरे भन्सार कार्यालयमा भन्सार अधिकृतका रूपमा कार्यरत थिए। बाढीपछि उनी सम्पर्कविहीन भएका थिए।
शवको पोस्टमार्टम प्रक्रिया पूरा भएपछि परिवारजनले बुझेका छन्।
यसैबीच, गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीपछि हालसम्म ६५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बाढीले बगाएर ल्याएका शव विभिन्न स्थानमा फेला परेपछि पहिचान तथा व्यवस्थापनको कामसमेत भइरहेको छ।
भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, गोरखालगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ भने बेपत्ता नागरिकको खोजी कार्य अझै जारी छ।







