काठमाडौं ।  बाढी र पहिरोले देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार, काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका विभिन्न जिल्लामा सडक अवरोध कायम रहेको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्ण भिर र गजुरी गाउँपालिका-२ स्थित परेवा भिरमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भदौ १४ गतेदेखि नै यी स्थानमा पहिरो खस्ने क्रम जारी रहँदा यातायात ठप्प भएको हो।

ADVERTISEMENT

ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडामा भदौ १५ गते दिउँसो खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध छ।

ADVERTISEMENT

बाढीको जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सवारी साधन चलाउन पाइने छैन भने दिउँसोको समयमा परिस्थितिको मूल्याङ्कन गरेर मात्र सवारी छोडिने प्रहरीले जनाएको छ।

नुवाकोटको बेत्रावतीस्थित सिमिटारमा बाढीका कारण पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, टोखा-छहरे सडक खण्डको घट्टेखोलामा बाढी र पहिरोको जोखिमका कारण राती १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

ADVERTISEMENT

रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढीका कारण त्रिशुली-मैलुङ्ग-स्याफ्रुबेसी सडक खण्ड लामो समयदेखि अवरुद्ध छ। यसका साथै जिल्लाका अन्य मुख्य राजमार्गहरू पनि बाढीका कारण भदौ १० गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध रहेका छन्।