काठमाडौं । धादिङ जिल्लाको कृष्णभिरमा सडक अवरुद्ध भएसँगै राजधानी काठमाडौंको मुख्य लाइफलाइन पुनः अवरुद्ध बनेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट बाहिरिने र भित्रिने सवारी साधनका कारण अहिले सो जिल्ला हुँदै सवारी आवागमन चाप बढेको छ ।
सोही कारण कार्यालयले अत्यावश्यक कामविना काठमाडौंतर्फको यात्रा नगर्न सचेत गराएको छ । कार्यालयले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौं आवागमन गर्नेगरी तोकेको छ ।
१४ सिट भन्दा ठूला यात्रुबाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र सोही मार्गबाट फर्कने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । १४ सिट भन्दा सानो क्षमताका यात्रुबाहक सवारी साधनलाई भीमफेदी–देउराली हुँदै काठमाडौंतर्फ जाने र आउने व्यवस्था मिलाउन कार्यालयले अनुरोध गरेको छ ।
यस अवधिमा कुनै पनि राजमार्गमा धैर्य र अनुशासन कायम गर्न भनिएको छ । ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण पालना गर्न समेत कार्यालयले भनेको छ ।
उता, पुथ्वी राजमार्गको कृष्णभिरमा गएको पहिरोको भने अहिले सडक विभागले प्राविधिक अध्ययन गर्दैछ । त्यसपछि मात्र पुनर्निर्माणको समय तय हुनेछ । सो क्षेत्र यसअघि लामो समय पहिरोग्रस्त बनेको थियो ।







