दक्षिण कोरियाली ब्रान्ड कियाको नयाँ विद्युतीय एसयूभी क्लाभिस ईभी नेपाली बजारमा आउने भएको छ। नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले क्लाभिस ईभी नेपाल ल्याउने प्रक्रिया अघि बढाएको हो।
कम्पनीले नेपाली बजारका लागि यसको अधिकतम खुद्रा मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिसकेको जनाएको छ। भारतमा बिक्री भइरहेको क्लाभिस ईभी ४२ र ५१.४ किलोवाट आवर ब्याट्री विकल्पमा उपलब्ध छ। यीमध्ये सम्बन्धित ब्याट्रीले क्रमशः ४०४ किलोमिटर र ४९० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ। नेपालमा कुन ब्याट्री विकल्प ल्याउने भन्ने कम्पनीले खुलाएको छैन।
क्लाभिस ईभीमा डीसी फास्ट चार्जिङमार्फत १० देखि ८० प्रतिशतसम्म ब्याट्री करिब ३९ मिनेटमा चार्ज गर्न सकिने बताइएको छ। यसमा १३५ र १७१ हर्सपावर क्षमताका दुई मोटर विकल्प उपलब्ध छन्।
फिचरतर्फ १२.३ इन्चको इन्फोटेनमेन्ट तथा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, पानोरामिक सनरुफ, भेन्टिलेटेड सिट, वायरलेस चार्जर, बोस साउन्ड सिस्टम, ३६० डिग्री क्यामेरा तथा एडीएएसजस्ता सुविधा उपलब्ध छन्।
कम्पनीले नेपालमा यसको औपचारिक लन्च मिति घोषणा गरिसकेको छैन। यद्यपि, फेस्टिभ सिजनमै बिक्री सुरु गर्ने तयारी भइरहेको जनाएको छ। नेपालमा क्लाभिस ईभीले बीवाईडी एटो २, विलिङ एक्स्ट्रा र महिन्द्रा एक्सयूभी ३एक्सओ ईभीलगायत मोडलसँग प्रतिस्पर्धा गर्नेछ।






