काठमाडौँ, भदौ १५ गते । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न प्रारम्भिक रूपमा करिब ४ देखि ५ अर्ब अमेरिकी डलर अर्थात् पौने ८ खर्ब रुपैयाँसम्म लाग्ने अनुमान गरिएको छ।
बाढीबाट सडक, पुल, जलविद्युत् आयोजना तथा सयौँ निजी आवासमा ठूलो क्षति पुगेकाले पुनर्निर्माणको लागत उच्च हुने देखिएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त रकम प्रारम्भिक अनुमान मात्रै भएको बताउँदै राष्ट्रिय योजना आयोगको विस्तृत मूल्यांकनपछि वास्तविक लागत यकिन हुने स्पष्ट पार्नुभएको छ।
यसैबीच, बाढीपछि राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग जुट्न थालेको छ। अर्थ मन्त्रालयका अनुसार विश्व बैंकको समन्वयमा करिब २५ अर्ब रुपैयाँ बराबरको सहायता सुनिश्चित भएको छ। एडीबी र अमेरिकाले ५०–५० लाख अमेरिकी डलर तथा यूएईले १ करोड डलर मानवीय सहायता घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय रेडक्रसबाट करिब १९ करोड रुपैयाँ सहायता आउने क्रममा छ भने चीन र भारतबाट प्राविधिक तथा वस्तुगत सहयोग भइरहेको छ।
तत्काल यातायात सञ्चालनमा ल्याउन सरकारले चीनसँग ७० मिटरभन्दा लामा ३० वटा बेलिब्रिजसमेत माग गरेको छ। तत्काल प्राप्त सहयोगले मात्र पुनर्निर्माणको ठूलो दायित्व धान्न कठिन हुने देखिएपछि सरकारले अन्तर्राष्ट्रिय दातृ सम्मेलन गर्ने तयारी थालेको छ। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार राष्ट्रिय योजना आयोगले विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) तयार गरेपछि सम्मेलनको मिति तय गरिनेछ। क्षतिको विस्तृत मूल्यांकनपछि अन्तर्राष्ट्रिय समुदायसँग दीर्घकालीन सहयोगको अपिल गर्ने सरकारको तयारी छ।






