काठमाडौँ । आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने तय भएको ‘नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ स्थगित गरिएको छ।

मिडिया स्पेस सोलुसन्स प्रालि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि. तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा प्रदर्शनी हुने तय भएको थियो।

ADVERTISEMENT

नेपालमा आएको विनाशकारी बाढीपहिरोका कारण देश कठिन र दुःखद परिस्थितिबाट गुज्रिरहेको तथा ठूलो जनधनको क्षति भएको अवस्थामा व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु मानवीय दृष्टिले उचित नहुने भन्दै आयोजकले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको छ।

ADVERTISEMENT

राष्ट्रिय शोक तथा पुनर्निर्माणको संवेदनशील अवस्था, नेपाल सरकारको सुरक्षा सचेतना तथा भारत र चीन सरकारले आफ्ना नागरिकका लागि जारी गरेको यात्रा सुरक्षा सल्लाहलाई समेत ध्यानमा राखिएको आयोजकले जनाएको छ।

सहभागी, प्रदर्शक तथा आगन्तुकको सुरक्षा र यात्राको सहजतालाई प्राथमिकतामा राख्दै हाललाई प्रदर्शनी स्थगित गरिएको हो। अवस्था सामान्य भई यातायात तथा पूर्वाधार सुचारु भएपछि प्रदर्शनीको नयाँ मिति सार्वजनिक गरिने आयोजकले जनाएको छ।

ADVERTISEMENT

साथै, प्राकृतिक विपत्तिका कारण पर्न गएको असुविधाप्रति आयोजकले क्षमासमेत मागेको छ।