काठमाडौं । नेपाली ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्।

सन्दीपले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त हुने १ लाख ५० हजार रुपैयाँ बराबरको एक महिनाको तलब उद्धार कोषमा जम्मा गर्ने बताएका हुन्।

एसीसी प्रिमियर कपका लागि मलेसियामा रहेका सन्दीपले सामाजिक सञ्जालमार्फत आफूहरू देशबाट टाढा भए पनि मन भने नेपालमै रहेको उल्लेख गरेका छन्। उनले बाढी प्रभावितप्रति सहानुभूति व्यक्त गर्दै प्रतियोगिताभर नेपालको प्रदर्शन प्रभावित नागरिकप्रति समर्पित गर्ने बताएका छन्।

ADVERTISEMENT

त्यसैगरी, प्रिमियर कपमा नेपालले लिने हरेक विकेटबापत १ हजार ५०० रुपैयाँ तथा प्रहार गर्ने हरेक चौका र छक्काबापत १ हजार ५०० रुपैयाँ बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता पनि सन्दीपले जनाएका छन्।

ADVERTISEMENT

‘उनीहरूको सपना कुनै बाढीले बगाउन सक्दैन,’ सन्दीपले भनेका छन्। यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले पनि दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ।

ADVERTISEMENT

एसीसी प्रिमियर कपको समूह चरणमा नेपालले बहराइन, साउदी अरेबिया, मलेसिया र हङकङसँग प्रतिस्पर्धा गर्नेछ।