काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने नदीमा पहिरोले बाँध बनेर बनेको ताल भरिँदै गएपछि थप जोखिम उत्पन्न भएको भन्दै चिनियाँ दूतावासले सतर्क रहन आग्रह गरेको छ।
नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिअनुसार, पछिल्ला दिनमा चीन–नेपाल सीमा नदीको माथिल्लो क्षेत्रमा नेपाली भूभागतर्फको एक सहायक नदीमा हिमपहिरो र चट्टान खस्ने घटना भएको थियो। त्यसका कारण नदीको बहाव अवरुद्ध भई सीमा नदी क्षेत्रमा पहिरोले बनाएको ताल (ल्यान्डस्लाइड–ड्याम्ड लेक) बनेको हो।
दूतावासका अनुसार उक्त तालमा अहिले पानीको सतह उच्च अवस्थामा पुगेको छ र पानी ओभरफ्लो हुन थालेको छ। यसले तालको बाँध थप कमजोर भई फुट्ने सम्भावना बढाएको भन्दै जोखिमको अवस्था सिर्जना भएको जनाइएको छ।
चिनियाँ दूतावासले अहिले नेपाल र चीन दुवैतर्फ उद्धार तथा आपत्कालीन प्रतिकार्यका लागि अवस्था संवेदनशील चरणमा रहेको जनाएको छ।
तालभन्दा तल नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय समुदाय तथा सम्बन्धित व्यक्तिहरूलाई नदीको पानीको सतहमा भइरहेको परिवर्तनलाई नजिकबाट निगरानी गर्न, उच्च सतर्कता अपनाउन तथा सम्भावित जोखिम सामना गर्न आवश्यक तयारी अगाडि नै गर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा नेपाल र चीनका सम्बन्धित निकायहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको तथा जोखिमको मूल्यांकन र व्यवस्थापनका लागि आवश्यक काम गरिरहेको उल्लेख छ।
दूतावासले सर्वसाधारणलाई आधिकारिक तथा विश्वसनीय सूचनालाई मात्र आधार बनाउन आग्रह गर्दै अपुष्ट सूचना फैलाएर अनावश्यक त्रास सिर्जना नगर्न समेत अनुरोध गरेको छ।






