बाढीका कारण घरबारविहीन बनेपछि रसुवा र नुवाकोटका स्थानीय यतिबेला गहिरो चिन्ता र पीडामा छन्। आफ्ना आफन्त बेपत्ता भएपछि उनीहरू खोजी र उद्धारको आशामा विभिन्न निकायमा धाइरहेका छन्।बेपत्ताको खोजी तथा बाढी प्रभावित क्षेत्रमा फसेकाहरूको उद्धारका लागि परिवारका सदस्य र आफन्तहरूले नुवाकोट सदरमुकाम विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा नाम टिपाइरहेका छन्।
बाढीले घर, सम्पत्ति र आफन्त गुमाएपछि पीडित परिवारमा अब कहाँ जाने र कसरी जीवन अघि बढाउने भन्ने चिन्ता थपिएको छ। आफन्तको अवस्था थाहा पाउन नसक्दा उनीहरूको पीडा झनै गहिरिएको छ।
यता नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा निरन्तर खटिएका छन्। फसेका नागरिकको उद्धार, बेपत्ताको खोजी तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकता दिइएको छ। पीडित परिवार भने आफ्ना बेपत्ता आफन्त सकुशल भेटिने आशामा उद्धार टोली र सम्बन्धित निकायबाट आउने खबरको प्रतीक्षामा छन्।







