प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताहरूले एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका हुन्।

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी कोषमा सहयोग जुट्न थालेको हो।

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने तथा सहयोगको समन्वय गर्ने जिम्मेवारी अर्थ मन्त्रालयलाई दिएको छ। व्यक्तिगत रूपमा नगद सहयोग गर्न चाहने दाताले मन्त्रालयमै पुगेर रकम उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

नयाँ सहयोगसँगै कोषमा रहेको कुल बचत रकम चार अर्ब नौ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ। यसअघि कोषमा दुई अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ रुपैयाँ बचत रहेको थियो।

ADVERTISEMENT

यसैबीच, बिहीबार मात्रै निजी क्षेत्रका दाताहरूबाट मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि प्राप्त सहयोग परिचालन गर्ने जनाएको छ। उक्त रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेका सहयोग भने समावेश गरिएको छैन।

ADVERTISEMENT