भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण अलपत्र परेका ११७ जना विदेशी पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएकामध्ये ८५ जना भारतीय, १६ जना चिनियाँ र ९ जना दक्षिण कोरियाली नागरिक रहेका छन्।
त्यस्तै, दुई अमेरिकी र दुई इटालियन पर्यटकको समेत उद्धार गरिएको बोर्डले जनाएको छ। उद्धार गरिएका अन्य तीन जनाको भने हालसम्म पहिचान खुल्न सकेको छैन।
बाढीका कारण अझै ६ सयभन्दा बढी पर्यटक सम्पर्कविहीन रहेको बताइएको छ। विशेषगरी कैलाश मानसरोवर यात्राका लागि त्यस क्षेत्रमा पुगेका धेरै पर्यटक सम्पर्कविहीन रहेको ट्रेकिङ तथा टुर कम्पनीहरूले जनाएका छन्।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि पर्यटकहरू विभिन्न स्थानमा अलपत्र परेका थिए। प्रतिकूल मौसम र अवरुद्ध यातायातका कारण उनीहरूको उद्धारमा समेत चुनौती देखिएको छ।
सम्पर्कविहीन पर्यटकको अवस्थाबारे जानकारी लिन तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ। उद्धार गरिएका पर्यटकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यक सहयोग उपलब्ध गराउने काम भइरहेको छ।






