काठमाडौं, भदौ १२ । विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो र लोकप्रिय ‘ज्ञान कार्निभल’को ३२औँ संस्करण सोमबारदेखि सुरु हुने भएको छ। ज्ञानोदय बाल वाटिकाको आयोजनामा हुने प्रतियोगितामा ब्वाइज तथा गल्र्स बास्केटबलसँगै ब्वाइज र गल्र्स फुटबल प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले प्रतियोगिताका बारेमा जानकारी दिइन्।
महिला फुटबललाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्ष पहिलोपटक गल्र्स फुटबललाई प्रतियोगितामा समावेश गरिएको ज्ञानोदयका सिनियर भाइस प्रिन्सिपल भानु एले बताए।
बास्केटबलतर्फ ब्वाइज र गल्र्समा समान आठ–आठ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्। फुटबलतर्फ ब्वाइजमा सहभागी नौ टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ।
गल्र्स फुटबलमा भने सात टोलीले सुपर लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। सुपर लिगको शीर्ष दुई स्थानमा रहने टोली उपाधिका लागि भिड्ने आयोजकले जनाएको छ।
प्रतियोगिता एस.बलको मुख्य प्रायोजन तथा सफल दूध र फन पार्टनर चोकोफन क्रसको सह–प्रायोजनमा आयोजना हुन लागेको हो। एस.बल फाउन्डेसनका अध्यक्ष सतिश जोशीले विद्यालय खेलकुदमा स्थापित प्रतियोगितासँग जोडिन पाउनु गौरवको विषय भएको बताए।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेकाले प्रतियोगिताको उद्घाटन कार्यक्रम सामान्य रूपमा गरिने आयोजकले जनाएको छ।
दस दिनसम्म सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेल बुङमतीस्थित ज्ञानोदय बाल वाटिकाको खेल मैदानमा सञ्चालन हुनेछन्। सन् १९९४ बाट सुरु भएको ज्ञान कार्निभल विद्यालयस्तरीय खेलकुदको स्थापित प्रतियोगिताका रूपमा रहँदै आएको छ।






