काठमाडौं । काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा शुक्रबार केही समय विद्युत् आपूर्ति अवरुद्ध हुनुको कारण नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि केही १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’मा रहेका बेला खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो।
प्राधिकरणका अनुसार शुक्रबार बिहान ६ः४० बजेदेखि हेटौंडा–अमलेखगञ्ज र कमाने–अमलेखगञ्ज १३२ केभी प्रसारण लाइन निर्धारित सटडाउनमा राखिएको थियो। ती लाइन सटडाउनमा रहेका बेला विद्युत् प्रणालीलाई ढल्केबर–खुर्कोट–खिम्ती–भक्तपुर–स्युचाटार प्रसारण मार्गबाट सञ्चालन गरिएको थियो।
यही क्रममा बिहान ८ः५२ बजे खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको सर्किट–१ को तार चुडिएर लाइन ट्रिप भएको प्राधिकरणले जनाएको छ। एउटा सर्किटमा समस्या आएपछि प्रणालीलाई वैकल्पिक व्यवस्थाबाट सञ्चालन गर्ने प्रयास भइरहेकै बेला बिहान ९ः१८ बजे सोही प्रसारण लाइनको सर्किट–२ समेत ट्रिप भएको थियो।
खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किट ट्रिप भएपछि विद्युत् प्रसारण सम्पर्कविच्छेद हुँदा काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको प्राधिकरणको भनाइ छ।
विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राधिकरणले वैकल्पिक प्रसारण मार्ग प्रयोग गरेको थियो। त्यसका लागि भारतको उत्तर प्रदेशस्थित सम्पतिया सबस्टेसनबाट मैनहिया सबस्टेसन हुँदै विद्युत् आपूर्ति सञ्चालन गरिएको थियो।
वैकल्पिक प्रसारण व्यवस्थामार्फत बिहान ९ः४४ बजेदेखि काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पुनःसुचारु गरिएको प्राधिकरणले जनाएको छ।
यसैबीच, अवरुद्ध भएको प्रसारण प्रणालीको समस्या पहिचान तथा मर्मतका लागि सम्बन्धित प्राविधिक टोली परिचालन गरिएको छ। टोलीले प्रसारण लाइनको स्थलगत निरीक्षण, समस्या पहिचान र आवश्यक मर्मतसम्भारको काम गरिरहेको प्राधिकरणले जनाएको छ।
प्रसारण लाइनमा देखिएको समस्या पहिचान गरी प्रणालीलाई नियमित र भरपर्दो रूपमा सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक काम भइरहेको प्राधिकरणको भनाइ छ।






