काठमाडौं । यही भदौ १० गते रसुवा क्षेत्रमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा खर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। रसुवा भन्सारबाट दसैँका लागि चीनबाट ल्याइएका दर्जनौँ कन्टेनरमा रहेका सामान बाढीले बगाएको छ। यस्तै, भन्सार कार्यालय परिसरमा रहेका सयौँ सवारीसाधन, मालवाहक ट्रक, लोड गरिएका सामान, जलविद्युत् गृह तथा विभिन्न उद्योग–व्यवसायमा समेत क्षति पुगेको छ। बाढीका कारण ठूलो मानवीय क्षतिसमेत भएको छ।

यी क्षेत्रको जोखिम बहन गर्ने प्रमुख निकायमध्ये बीमा कम्पनीहरू पनि हुन्। नेपालमा हाल विभिन्न किसिमका गरी ३७ वटा बीमा कम्पनी सञ्चालनमा छन्। जसमध्ये १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, दुईवटा पुनर्बीमा र सातवटा लघुबीमा कम्पनी रहेका छन्।

रसुवा बाढीपछि शेयर बजारमा सूचीकृत समूहहरूमध्ये जीवन बीमा, निर्जीवन बीमा र जलविद्युत् उपसमूहमा ठूलो असर देखिएको छ। बाढी आएको दिन अर्थात् भदौ १० गते जलविद्युत् उपसमूहको सूचक १०४.३३ अंकले घटेको थियो। त्यस्तै, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको सूचक क्रमशः १७५.१३ र ४०४.५ अंकले घटेको थियो।

ADVERTISEMENT

बाढीपछिको दोस्रो दिन पनि जलविद्युत् उपसमूहमा १९.७८ अंकको गिरावट आएको छ। जीवन बीमा र निर्जीवन बीमा उपसमूहको सूचक क्रमशः २८.१० र २०१.८१ अंकले घटेका छन्। यसले रसुवा बाढीको प्रभाव जलविद्युत् तथा बीमा क्षेत्रमा समेत परेको देखाउँछ।

ADVERTISEMENT

प्राकृतिक विपत्तिका कारण बीमा कम्पनीहरूले गर्नुपर्ने दाबी भुक्तानीको दायित्व बढ्न सक्ने भएकाले पछिल्ला दुई दिनमा बीमा तथा जलविद्युत् उपसमूहको शेयर मूल्यमा दबाब परेको देखिन्छ। यद्यपि, बाढीबाट बीमा क्षेत्रमा भएको वास्तविक भौतिक, मानवीय तथा आर्थिक क्षतिको आधिकारिक विवरण भने अझै प्राप्त भइसकेको छैन।

ADVERTISEMENT

नेपाल बीमा प्राधिकरणकी प्रवक्ता एवं निर्देशक पुजन ढुंगेल अधिकारीले रसुवा बाढीपछि बीमा क्षेत्रमा परेको क्षतिको विवरण संकलन भइरहेको बताइन्।

उनका अनुसार प्राधिकरणले सबै बीमा कम्पनी तथा सम्बन्धित सरोकारवाला निकायसँग भौतिक, मानवीय र आर्थिक क्षतिको विवरण माग गरेको छ।

“हामीले रसुवा बाढीपछि बीमा क्षेत्रमा परेको भौतिक, मानवीय र आर्थिक क्षतिको बारेमा सबै बीमा कम्पनी एवं सरोकारवाला निकायसँग विवरण माग गरेका छौँ। यो विवरण नआएसम्म प्राकृतिक विपत्तिका कारण बीमा कम्पनीहरूको बढ्न सक्ने भुक्तानी दायित्व तथा समग्र क्षतिको बारेमा तत्काल केही भन्न सक्ने अवस्थामा छैनौँ,” प्रवक्ता ढुंगेलले भनिन्।

उनका अनुसार क्षतिको यकिन तथ्यांक प्राप्त हुन अझै केही समय लाग्नेछ। तथ्यांक प्राप्त नभएसम्म बीमा क्षेत्रमा परेको क्षतिको तत्काल अनुमान गर्नसमेत कठिन रहेको उनले बताइन्।

यससँगै रसुवा बाढीपछि बीमा कम्पनीहरूको सम्भावित दाबी दायित्व कति बढ्छ र त्यसको वित्तीय प्रभाव कस्तो पर्छ भन्ने विषय आधिकारिक क्षतिको विवरण आएपछि मात्रै स्पष्ट हुने देखिएको छ।