काठमाडौं । विकास बैंकहरूमा निष्क्रिय कर्जा (एनपीएल) को अवस्था चिन्ताजनक देखिएको छ। बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार क्षेत्रीय तथा राष्ट्रियस्तरका १५ विकास बैंकमध्ये केहीको निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सीमाभन्दा निकै माथि पुगेको छ।

नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी हुनु हुँदैन। सो सीमाभन्दा बढी एनपीएल कायम भए राष्ट्र बैंकले निक्षेप तथा कर्जामा सीमा तोक्ने, शाखा तथा कर्मचारी विस्तारमा रोक लगाउनेलगायतका नियामकीय कारबाही गर्न सक्ने व्यवस्था छ।

सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी निष्क्रिय कर्जा नारायणी डेभलपमेन्ट बैंकमा ५०.९७ प्रतिशत रहेको छ। सबैभन्दा कम भने मितेरी डेभलपमेन्ट बैंकमा ०.२६ प्रतिशत रहेको छ।

ADVERTISEMENT

५ प्रतिशतको नियामकीय सीमाभन्दा माथि एनपीएल भएका विकास बैंकमा नारायणीसहित सिन्धु, कर्पोरेट, लुम्बिनी, ज्योति, सप्तकोशी र साँग्रिला डेभलपमेन्ट बैंक रहेका छन्।

ADVERTISEMENT

अघिल्लो आर्थिक वर्षको तुलनामा केही बैंकको निष्क्रिय कर्जा घटे पनि केहीमा भने बढेको देखिन्छ। कर्पोरेट डेभलपमेन्ट बैंकको एनपीएल १२.४३ प्रतिशतबाट घटेर ६.२४ प्रतिशतमा आएको छ भने सप्तकोशीको १०.६५ प्रतिशतबाट घटेर ७.६८ प्रतिशतमा झरेको छ। यता लुम्बिनी, ज्योति, साँग्रिला, शाइन रेसुङ्गा तथा कामना सेवा विकास बैंकमा एनपीएल बढेको छ।

ADVERTISEMENT

नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भई सुधारोन्मुख अवस्थामा रहेको कर्णाली डेभलपमेन्ट बैंकले भने आर्थिक वर्ष २०८२/०८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छैन।