काठमाडौँ । एकै मञ्चमा एकसाथ १४ वटा मौलिक तीज गीतको विमोचन गरिएको छ ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर, लोकगायक कृष्ण कँडेल लगायतले उक्त गीत सार्वजनिक गरेका हुन् ।
नजिकिँदै गरेको तीज पर्वलाई लक्षित गर्दै निर्माण गरिएका गीतहरूमा प्रकाश पराजुलीको ‘म्वाईं खाँदै’, राधा हमालको ‘भुरुरु आउँथे बरै चरी भए त’, समसेर पुनको ‘मन पर्ने मान्छे’, अनमोल बस्नेतको ‘छैन केही पिर चिन्ता’, विशाल छेत्रीको ‘ए आमा तिम्रो दुःख’, तारादेव डिसीको ‘नाच भन्छे मैना’, उमा बिडारीको ‘म कस्ती देखिएँ’, पूजन काफ्लेको ‘तीजको लहर आउँदा बरिलै’, लक्ष्मी पुरी प्रधानको ‘नाच फुरुक्कै’, सुमित्रा कोइरालाको ‘आयो मलाई झलिको माइती देशैको’, शिव राज पौडेलको ‘छोरा बनाइदे’ आइजी दानबहादुर कार्कीको ‘चेलीले माइतीलाई सम्झेर’, सरोज लामिछाने र कमल आचार्यको ‘मनको बेदना’, मोतिराज खनालको ‘कम्मर भाँचौला’ रहेका छन् ।
कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरले आफू मर्दा मलामी नभए पनि विकृतिजन्य गीतको विरुद्धमा बोल्न नछाड्ने बताइन् ।
गायक कृष्ण कँडेलले आफू जहिले पनि मौलिक सृजनाको पक्षमा रहेको बताए । उनले यो पटकको तीजमा पनि इन्द्रेणीले मौलिक तीज गीतहरूको ७ वटा सिरिज बनाएको छ । जहाँ महिला दिदीबहिनीहरुका गति मात्र रहेका सुनाए ।
थुप्रै गायक गायिकाको उपस्थिति रहेको कार्यक्रममा वरिष्ठ लोक गायिका टिका पुनलाई ‘मौलिक गायन सम्मान’ प्रदान गरियो । उनलाई नगद ५ हजार ५५५ रुपैयाँ सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले सामूहिक गीत विमोचनमा सहकार्यमा सहकार्य गरेका सम्पूर्ण कलाकार, निर्माता, निर्देशकहरूलाई धन्यवाद दिए ।






