काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि अस्ट्रेलियन राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेट गरेका छन्।
सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, आपसी हित, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलगायतका विषयमा छलफल भएको थियो।
भेटमा अध्यक्ष दाहालले नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सेवा सञ्चालनसम्बन्धी निर्णय कार्यान्वयनका लागि आवश्यक पहल गर्न राजदूत अर्न्स्टलाई आग्रह गरे। उनले दुई देशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गरे।
अध्यक्ष दाहालले नेपाल र अस्ट्रेलियाबीच द्विपक्षीय तथा अन्तर्राष्ट्रिय तहमा कुनै असमझदारी नरहेको उल्लेख गर्दै गत वर्ष भएको व्यापार तथा लगानीसम्बन्धी सम्झौताले आर्थिक सहकार्यलाई नयाँ गति दिने विश्वास व्यक्त गरे।
नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूह गठन भइसकेको जानकारी दिँदै उनले संसदीय अनुभव आदानप्रदान, नियमित अन्तरक्रिया तथा द्विपक्षीय भ्रमणले दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउने बताए। संसदीय कूटनीतिमार्फत सम्बन्ध थप विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए।
अध्यक्ष दाहालले जनस्तरमा विकसित सम्बन्धलाई नेपाल–अस्ट्रेलिया सम्बन्धको महत्वपूर्ण आधारका रूपमा उल्लेख गरे। अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि प्रमुख उच्च शिक्षा गन्तव्य बनेको बताउँदै उनले हजारौँ नेपाली विद्यार्थी त्यहाँ अध्ययनरत रहेको तथा ठूलो संख्यामा नेपाली रोजगारी र विभिन्न पेसामा आबद्ध रहेको स्मरण गरे।
भेटमा राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटका लागि धन्यवाद दिँदै आफ्नो नेपाल बसाइँमा दुई देशबीचको सम्बन्धलाई अझ निकट र बलियो बनाउन प्रयास गर्ने बताए।
उनले नेपाल र अस्ट्रेलियाबीच कूटनीतिकसँगै जनस्तरमा पनि बलियो सम्बन्ध रहेको उल्लेख गर्दै हाल अस्ट्रेलियामा ६० हजारभन्दा बढी नेपाली विद्यार्थी रहेको र समग्रमा दुई लाखभन्दा बढी नेपाली रहेको जानकारी दिए।






